काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहदै फाइनल प्रवेश गरेको छ ।
टियु मैदान कीर्तिपुरमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले ललिपुर ११ लाई ३७ रनले पराजित गरेको हो ।
एपीएफले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ७३ रन बनायो ।
ललितपुरका लागि सोनी पाख्रिनले १५ रन बनाउँदा लक्ष्मी चौधरी र सिमाना केसीले समान १०/१० रन बनाईन् ।
एपीएफका लागि बिन्दु बुढा र राजमती ऐरीले समान २/२ तथा सुष्मा श्रेष्ठ,इन्दु बर्मा र कप्तान सीता राना मगरले समान १/१ विकेट लिईन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट दिएर १ सय १० रन बनायो ।
एपीएफका लागि राजमती ऐरीले ५२ बलमा ४१ रन बनाईन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा बिन्दु बुढाले १२ रन बनाईन् ।
ललितपुरका लागि सिमाना केसी र श्रृष्टि जैसीले समान २/२ तथा मनिशा उपाध्याय र सोनी पाख्रिनले समान १/१ विकेट लिईन् ।
अपराजित बन्दै फाइनलमा स्थान बनाएको एपीएफले ४ खेलमा ८ अंक बनाएको छ । प्रतियोगिताबाट बाहिरीसकेको ललितपुर अंक बिहिन रहेर पुछारमा रहेर प्रतियोगिता सम्पन्न भएको छ ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
फाइनल नजिक पुगेको कोशी आज जित निकालेर फाइनल यात्रा पक्का गर्न चाहन्छ । कोशीलाई फराकिलो अन्तरमा पराजित गरि फाइनलको झिनो सम्भावना पूरा गर्न चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।