काठमाडौं । पाकिस्तानले अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा अफगानिस्तानलाई हराउँदै सिरिज क्लिन स्वीप हुनबाट बचेको छ ।
शारजाहमा सोमबार राती सम्पन्न खेलमा पाकिस्तान ६६ रनले विजयी भएको हो ।
तीन खेलको सिरिज भने एक खेल अगावै अफगानिस्तानले जितिसकेको थियो ।
पाकिस्तानले दिएको १ सय ८३ रनको पछ्याएको अफगानिस्तान १८ ओभर ४ बलमा अलआउट हुदै १ सय १६ रन मात्र बनायो ।
अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले २० बलमा सर्वाधिक २१ रन बनाए । रहमानउल्लाह गुरबाज १८ तथा उस्मान घानी १५ रनमा आउट भए ।
मोहम्मद नाबीले १७ रन बनाउँदा कप्तान राशिद खान १६ रनमा आउट भए ।
पाकिस्तानका लागि इहसनउल्लाह र कप्तान शादब खानले समान ३/३ तथा इमाद वासिम, जमान खान र मोहम्मद वासिम जुनियरले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।
पाकिस्तानका ओपनर सैम अयुबले ४० बलमा ४९ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।
कप्तान शादब खानले २८ रन जोड्दा इफ्तिखर अहमद ३१ रनमा आउट भए ।अब्दुल्लाह शफिक २३ र इमाद वासिम १३ रनमा आउट भए । ।
अफगानिस्तानका मुजिब उर रहमानले २ तथा फजलउहक फारुकी, मोहम्मद नाबी, फरिद अहमद, कप्तान राशिद खान र करिम जन्नतले समान १/१ विकेट लिए ।