काठमाडौं । आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि स्कटल्याण्डले जितेको छ । २०१९ देखि आईसीसी लिग टू सुरुआत भएको हो ।
स्कटल्याण्डले यस सिरिजको तीन खेल अगावै उपाधि जितेको हो ।
विश्वकप लिग टू यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट खेलका लागि भएको एक छनोट प्रतियोगिता हो ।
आईसीसी विश्वकप लिग टूमा नेपाल सहित ७ देश सम्मिलित रहेका थिए । यस सिरिजमा रहेको एक टोलीले ३६ खेल खेल्ने तालिका रहेको छ । ओमान , अमेरिकाले यस लिग टूका ३६ खेल नै पूरा गरिसकेका छन् ।
लिग टू का शीर्ष तीन टोली सोझै आईसीसी विश्वकप छनोट खेल्न पाउने छन् । बाँकी चार टोली र आईसीसी विश्वकप च्यालेन्ज लिगका दुई शीर्ष टोलीसँग आईसीसी विश्वकप छनोटप्लेअफ खेल्नेछन् । प्लेअफका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छ ।
लिग टू मा नेपालले ११, युएईले १०, नामिबियाले ४ र पपुवा न्युगिनीले ८ खेल खेल्न बाँकी छ । सबै खेलमा जित हासिल गरेमा पनि कुनै पनि टोलीको अंकमा स्कडल्याण्डको जति पुग्न सक्दैनन् । त्यसैले स्कटल्याण्ड तीन खेल अगावै च्याम्पियन बनेको हो ।
स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । शीर्ष स्थानमा रहेको स्कटल्याण्डले विश्वकप छनोटमा साृझै स्थान बनाउने छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष तीनमा ओमान पनि रहने लगभग पक्का छ ।
नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । नामिबियाको शीर्ष स्थानमा रहँदै सिधा छनोट खेल्ने सम्भावना प्रवल रहेको छ ।
नामिबियाले नेपाल र स्कटल्याण्डसँग समान ११ तथा यूएईसँग दुई खेल खेल्न बाँकी छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । अमेरिकाले आफ्नो ३६ खेल समाप्त गरिसकेको छ । अमेरिकाले विश्वकप छनोटमा सिधै स्थान बनाउँन समेत असफल भएको छ ।
युएई २६ खेलमा १२ मा जित तथा ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । यूएईको पनि शीर्ष तीनमा रहेर सिधा विश्वकप छनोट खेल्ने सम्भावना प्रवल रहेको छ ।
नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । शीर्ष ३ मा रहदै सीधा विश्वकप छनोट खेल्ने नेपालको सम्भावना झिनो रुपमा कायमै रहेको छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । पपुवा न्युगिनी विश्वकप लिग टूको शीर्ष ३ मा रहेर छनोट खेल्ने सम्भावनाबाट बाहिरी सकेको छ ।
नेपाल शीर्ष तीनमा पर्ने बाटो
नेपालले अब ११ खेल खेल्न बाँकी छ । सबै खेल जित्दा नेपालको ४२ अंक हुन्छ । ४२ अंकमा समीकरण हेर्दा नेपाल शीर्ष तीनमा पर्न सक्छ । तर, युएईले नेपालसँग बाकीँ रहेको चार खेल नै हार्नु पर्दछ । र, नामिबियाले कम्तीमा दुई खेल हार्नु पर्ने हुन्छ ।
नेपाल शीर्ष तीनमा पर्न नसके पनि नेपाल आईसीसी एकदिवसीय विश्वकप यात्राबाट भने बाहिरिदैन । नेपालले विश्वकप लिग टू का बाँकी पुछारका चार टोली र विश्वकप च्यालेन्ज लिग ए र बी का विजेतासँग छनोटको प्लेअफ खेल्नुपर्ने हुन्छ । विश्वकप लिग टूबाट पपुवा न्युगिनी र अमेरिकाले विश्वकप छनोट प्लेअफ खेल्ने पक्का भईसकेको छ ।
विश्वकप लिग टूको शीर्ष ३ मा रहेर वा प्लेअफको शीर्ष २ मा रहेर विश्वकप छनोटमा सहभागी हुने र १० टोली सहभागी रहने विश्वकप छनोटको शीर्ष २ मा रहेर विश्वकप खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।