काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको छ ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।