काठमाडौं । भारतीय प्रशिक्षक मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानको मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
क्यानको म्यानेजमेन्ट टिमले समेत देशाईको नाम मुख्य प्रशिक्षकको रुपमा पारित गरेको छ ।
क्यानले औपचारिक रुपमा मुख्य प्रशिक्षकको नियुक्ति घोषणा गरेको छैन । तर, देशाईलाई मुख्य प्रशिक्षकको रुपमा छनोट गरिएको क्यान स्रोतले खेलपाटीलाई जानकारी दिएको छ । केही दिनमा देशाईलाई मुख्य प्रशिक्षकको रुपमा सार्वजनीक गर्ने क्यानको तयारी छ ।
देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए ।
क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो ।
मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए ।
मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।