काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनलमा प्रदेश नम्बर-१ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।
दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
प्रदेश-१ ले दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
सुदुरपश्चिमले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई १८१ रनले हराएर फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।