काठमाडौं । प्रदेश नम्बर-१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश-१ उपाधि नजिक पुगेको हो ।
अब प्रदेश-१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश-१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन । अप्सरी बेगम ९ रनमा अविजित रहिन् । काजल श्रेष्ठ ९ र लकिता राजवंशी १ रनमा आउट भईन् ।
एपीएफका नेरी थापाले १ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो ।
एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक १० रन जोडिन् ।
त्यस्तै इन्दु वर्माले ७ तथा ज्योति पाण्डेले ५ रन बनाईन ।
एपीएफलाई सस्तैमा समेट्न प्रदेश-१ की संगीता राई र एलिशा खडियाले ३/३ विकेट लिईन् । सबनम राईले २ विकेट हात पारिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।