काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेल हुँदैछ ।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यो प्रतियोगिता सुनसरीको इटहरीमा जारी रहेको छ ।
सोमबारको पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली आजको खेल जित्दै लगातार दोस्रो जित हात पार्न चाहान्छन्।
समान दुई अंकमा रहेका यि दुई टोलीमा लुम्बिनी रनगतिमा अघि रहॅंदै समूह ‘बी’को शीर्ष स्थानमा रहॅंदा प्रदेश-१ दोस्रो स्थानमा रहेको छ। खेल बिहान ९ बजे सुरु हुनेछ ।
आजको दोस्रो खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच खेल हुँदैछ । पहिलो खेलमा जित निकालेको सुदुरपश्चिम आजको खेल जितेर लगातार दोस्रो जित निकाल्न चाहान्छ।
पहिलो खेलमा पराजित गण्डकी पनि आजको खेल जितेर प्रतियोगितामा पहिलो जित निकाल्न चाहान्छ । दुवै टोली समूह ‘ए’ मा रहेका छन् ।
२ अंकका साथ सुदुर समूहको दोस्रो स्थानमा रहॅंदा अंकबिहिन गण्डकी पुछारमा रहेको छ।
दुवै खेल जनता क्रिकेट पार्क क्रिकेट मैदान ईटहरीमा हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ ७ मा रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्नेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।
यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ । दुई समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।