काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित निकालेको छ।
पहिलो जित निकाल्ने क्रममा मधेशले आइतबार कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो ।
कर्णालीले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
मधेशको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाउँदा प्रतिमा शाहले अविजित १८ रन बनाईन् । कर्णालीले २२ रन अतिरिक्तमा दिएको थियो ।
कर्णालीका लागि बिना थापाले २ विकेट लिईन्।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो।
२३ रनमा पहिलो विकेट गुमाएको कर्णालीले बाँकी ५ विकेट गुमाएर ५६ रन जोड्न सक्यो । कर्णालीका लागि तिर्सना विश्वकर्मा १५ रन बनाउँदा अन्जु गुरुङले अविजित १३ रन बनाईन् ।
किरन कुँवर १३ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मधेश प्रदेशका लागि भुमी सिंहले ४ तथा अमिरान निशाले २ विकेट लिए ।
दोस्रो खेलमा पहिलो जित हात पारेको मधेश २ अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ।
कर्णाली प्रदेश दुई खेल खेल्दै अंकविहिन रहदै समूह ‘बी’ को पुछारमा रहेको छ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् ।
प्रतियोगितामा प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्नेछन् । पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ ।
प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ । यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।
दुई समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।