काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।
लगातार दोस्रो जित हात पार्न क्रममा बागमतीले प्रदेशले शुक्रबार प्रदेश-१ लाई पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले प्रदेश-१ लाई ७२ रनले पराजित गरेको हो ।
बागमतीले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको प्रदेश-१ ४९.१ ओभरमा अलआउट भएर १ सय ९७ रन मात्र बनाउन सक्यो ।
प्रदेश-१ का लागि कप्तान दीपेश कडेंलले ६६ बलमा ४७ रन बनाए । स्टेन रिजालले ३५ रनको योगदान गर्दा शुभन गहतराजले २६ तथा फैजल रहमानले २४ रन बनाए । विपिन महतोले २१ रन जोड्दा बागमतीले अतिरिक्तमा १५ रन खर्चिएको थियो ।
बागमतीका लागि सक्रिय कार्कीले ३ तथा ओमकार यादवले २ विकेट लिए । अभिशेक कोईराला,अर्थब पौड्याल र अहमद राजाले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो ।
बागमतीका लागि प्रतिक श्रेष्ठले १ सय ५ बलमा १० चौका र ९ छक्काको सहयोगमा अविजित १ सय ४२ रनको शतकीय ईनिङ खेलेका थिए ।
कप्तान अशोक पौडेलले २५ रन जोड्दा सक्षम बस्ताकोटी २३ रन बनाउँदा रन आउट भएका थिए । अर्थब पौड्यालले १५ तथा योगेश भाटले १४ रनको योगदान गरेका थिए । प्रदेश १ ले रन बागमतीलाई अतिरिक्तको रुपमा दिएको थियो।
प्रदेश १ का लागि कप्तान दिपेश कडेंल र विपिन महतोले समान २/२ तथा अभिनय राजवंशी,आशिष मगर र सोनु अन्सारीले समान १/१ विकेट लिएका थिए ।
अपराजित बागमती ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो खेलमा पहिलो हार व्यहोरेको प्रदेश-१ २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीहरुको बिचमा उपाधीका लागि खेल हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।