काठमाडौं । बागमती प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । बुधबार भएको उद्घाटन खेलमा बागमतीले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा बागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि अर्जुन कुमालले ९८ रनको अर्धशतकीय ईनिङ खेले । अर्जुनले १ सय १९ बलमा ९ चौका र १ छक्का प्रहार गरे । सिब्रिन श्रेष्ठले २१ रन जोड्दा कप्तान सुवास भण्डारी, गोविन्द विक र करन पंगेनीले समान १३/१३ रन बनाए । बागमती प्रदेशले ३६ रन अतिरिक्त स्वरुप खर्चिएको थियो ।
बागमतीका लागि अशोक पौडेलले ३ तथा ओमकार यादव,प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान २/२ विकेट लिए । अभिशेख कोईराला १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४८.१ ओभरमा अलआउट हुँदै २ सय ९३ रन बनाएको थियो ।
बागमतीका लागि योगेश भाट र उत्तम मगरले अर्धशतक बनाएका थिए । उत्तमले ७० बलमा ८७ रन बनाउँदा १० चौका र ३ छक्का प्रहार गरेका थिए । योगेशले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाएका थिए ।
ओमकार यादवले ३७ रन जोड्दा अभिशेख कोईरालाले ३२ रनको योगदान गरेका थिए । अर्थब पौड्यालले २१ रन तथा सक्षम बस्ताकोटीले १८ रनको योगदान गरेका थिए ।
गण्डकीका लागि निर्तिस गिरी र सुदिप अर्यालले समान ३/३ विकेट लिएका थिए । सिब्रिन श्रेष्ठ,अर्जुन कुमाल र कप्तान सुवास भण्डारीको नाममा समान १/१ विकेट रह्यो ।
जितसँगै बागमतीले २ अंक जोडेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।