काठमाडौं । श्रीलंकाका ब्याट्सम्यान दनुष्का गुनाथिलका अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका छन् ।
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियामा रहेका गुनाथिलका आइतबार यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।
गुनाथिलकालाई सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको टिम बसेको होटलबाट पक्राउ गरिएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ ।
गुनाथिलकामाथि २९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
'महिलाले एक अनलाइन डेटिङ एप्लिकेसन मार्फत धेरै दिनसम्म कुराकानी गरेपछि पुरुषलाई भेटेका थिए । त्यसपछि नोभेम्बर २ बुधबार साँझ उसले यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ,' प्रहरीले भनेको छ ।
पक्राउ परेका गुनाथिलकालाई सिड्नी सिटी पुलिस स्टेशनमा लगिएको र सहमति बिना यौन सम्पर्कसहित चारवटा आरोप लगाइएको छ ।
गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण विश्वकप खेल्ने टोलीबाट बाहिरिएका थिए । तर, उनी टोलीसँग अष्ट्रेलियामै रहेका थिए ।