काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक बिज्ञप्ति निकाल्दै प्रतियोगिताको विजेताले १० लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।
हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।
प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रहेको क्यानले जनाएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६० लाख उपलब्ध गराउने क्यानले जनाएको छ ।
प्रतियोगिता भोलि कात्तिक १३ देखि सुरु भएर कात्तिक २६ गतेसम्म संचालन हुनेछ ।
टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ ।
पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।