काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ ।
पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको खेलमा नामिबिया ६१ रनले विजयी भएको हो ।
नामिबियाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४३ ओभर १ बलमा अलआउट हुदै १ सय ५३ रन मात्र बनायो । उसका लागि लिगा सियाकाले ३८ तथा हिरी हिरीले २९ रन बनाए । चाल्स अमिनीले २२ तथा काबुया मोरियाले अविजित १५ रन बनाए । चाड सोपारले १० तथा कप्तान असद भालाले ७ रन बनाए ।
नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले ३ तथा टाङ्गीनी लङ्गामिनी, रुबेन ट्रपिलम्यान र जान फ्रायलिंक समान २/२ विकेट लिए । ब्रिनड स्कोलजले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । उसका लागि कप्तान गेहार्ड इरास्मसले ४९ तथा जान निकोलले ३५ रन बनाए । लोहानड्री लौरेन्सले ३४ तथा जान ग्रिनले अविजित ३१ रन बनाए । जान फ्रायलिंकले १४ तथा स्टेफन ब्राडले १३ रन बनाए ।
पपुवा न्युगिनीका लागि चाड सोपार र काबुआ मोरियाले समान २/२ तथा नोसाईना पोकना र असद भालाले समान १/१ विकेट लिए ।
जितसँगै नामिबियाको २२ खेलमा २६ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ ।
पपुवा न्युगिनी भने २४ खेलमा ५ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।
नेपाल २० खेलमा ८ मा जितका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ ।