काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।
नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन । लिस्ट ए मान्यता प्राप्त तथा अन्य आईसीसीका प्रतियोगिताहरुमा नेपाल र नामिबिया पटक पटक खेलेका छन् ।
तर, नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक खेल्न लागेको हो ।
नेपाल र नामिबिया एकदिवसीयमा पाँच पटक आमने सामने भएका छन् । जसमा नेपाल चार पटक विजयी भएको छ । नामिबिया एक खेलमा विजयी भएको छ ।
पहिलो पटक सन् २००१ मा आईसीसी ट्रफीमा नेपालले नामिबियासँग खेलेको थियो । क्यानडामा खेलिएको उक्त खेलमा नेपाल आठ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो । यस खेलमा नेपालका जय सरार्फले ४७ रन बनाएका थिए ।
दोस्रो पटक सन् २०१५ मा दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । आईसीसी लिग डिभिजन टूमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जुन भेट दुई टोलीबीच १४ वर्षपछिको थियो । त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । नामिबियामा भएको खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले ६४ रन बनाएका थिए ।
तेस्रो पटकको भेट सन् २०१५-१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो । सन् २०१७ मा दुई खेल नेपालमा भएको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो ।
पछिल्लो पटक सन् २०१८ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । नामिबियामा नै भएको त्यस खेलमा नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो ।
तर, अहिलेको अवस्था फरक रहेको छ । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डेबिड विजेको आगमनसँगै नामिबिया आक्रामक शैलीमा गएको छ । यसकारण नामिबिया नेपालका लागि धेरै नै बलियो प्रतिद्वन्दी बनेको छ ।