काठमाडौं । इंग्लिस क्रिकेट टिमको कप्तानीका लागि बेन स्टोक्स एक मात्र विकल्प थिए । अरू कुनै उपाय नै थिएन् । वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा पराजित इंग्लिस टिमका जति पनि अन्य सदस्य छन्, त्यसमा कप्तान बनाउन लायक अरू कोही थिएन् । फेरि त्यही टिम बाहिरका कोही ल्याएर कप्तान बनाउनु पनि ठीक थिएन् । यस्तोमा आफैमा नव नियुक्त कार्यकारी निर्देशक रब केलाई पटक्कै गाह्रो भएन्, स्टोक्सलाई नै कप्तानीको जिम्मेवारी सुम्पिन ।
टेस्ट क्रिकेटमा अचेल इंग्ल्यान्डको स्थान सबैभन्दा कमजोर टिमका रूपमा छ । यही कमजोर टिममा प्रवेशका लागि संघर्ष गरिरहेका खेलाडीलाई त झन कसरी पो नेतृत्व दिन सकिन्थ्यो र ? त्यसैले यो कठिन स्थितिमा स्टोक्स बाहेक अरू कसैलाई कसैले पनि सम्झन सकेनन् । फेरि उनी आफैमा कति उम्दा खेलाडी हुन्, यसमा कुनै शंका छैन् । एक क्रिकेट खेलाडीका रूपमा उनको योग्यता र प्रतिभामा न कहिले दुविधा थियो, न रहने छ ।
सन् २०१९ को वान डे विश्वकपको फाइनलमा उनको प्रदर्शनलाई कसरी बिर्सन सकिन्छ ? अझ त्यसको छ सातापछि हेडिङले टेस्टमा अस्ट्ेरलियाविरुद्ध उनले गरेको बहादुरीपूर्ण प्रदर्शन कसको मनबाट हटेको छ र ? तर सबै राम्रा खेलाडी राम्रा कप्तान हुनु पर्छ भन्ने पनि छैन् । अझ राम्रा खेलाडी खराव कप्तान हुन सक्ने सम्भावना उत्तिकै हुन्छ । स्टोक्स राम्रा खेलाडी त भए, अब प्रश्न हो, के उनी उत्तिकै उत्कृष्ट कप्तान पनि हुन सक्छन् त ?
सबैलाई थाहा छ, क्रिकेटमा कप्तानको कति धेरै ठूलो भूमिका हुन्छ भनेर । केही वर्ष भयो, उनले इंग्लिस टिमको एक निर्णायक सदस्यका रूपमा खेल्न थालेको । उनको ब्याट मात्र होइन्, बल पनि चल्छ । त्यस अर्थमा उनी अलराउन्डर हुन् । यस्ता खेलाडी निकै उपयोगी हुन्छन, क्रिकेटमा । यसक्रममा उनले आफूलाई टिम प्रवक्ताका रूपमा पनि प्रस्तुत गरेका छन् । त्यो अर्थमा उनले नेतृत्व सम्हालेको भयो नै । त्यसमाथि उनी मैदानमा उप कप्तान पनि त थिए ।
अलराउन्डकै कुरा गर्दा इंग्ल्यान्डका दुई पूर्व खेलाडीको नाम पनि आउने गर्छ, इयान बोथम र एन्ड्रयु फ्लिन्टफ । र, उनीहरूले इंग्लिस टिमको नेतृत्व सम्हाल्ने अवसर पनि पाए । तर यो काम उनीहरू दुवैका लागि गाह्रो पनि भयो । कतै स्टोक्सलाई पनि यस्तै हुने त होइन् ? इतिहासलाई हेरेर फेरि भविष्यबारे कोही खेलाडीबारे अनुमान पनि गर्न सकिन्न । अहिले तत्कालको स्थितिमा टिकेर भन्न सकिन्छ, स्टोक्स इंग्लिस टिमका लागि कप्तानीमा ‘राइट म्यान एट राइट टाइम ।’
कोही कसैबाट लुकेको छैन्, इंग्लिस टिम अहिले खराव समयबाट गुज्रिरहेको छ, विशेषत: टेस्ट क्रिकेटमा । स्टोक्सले अहिले जिम्मा पाएको पनि टेस्ट क्रिकेटकै हो । उनलाई पर्याप्त समय दिनु पर्छ र उनले पनि टेस्ट क्रिकेटमा इंग्ल्यान्डको प्रदर्शन सुधार्न धेरै पर्याप्त मिहिनेत गर्नु पर्छ । अहिले तत्कालका लागि इंग्लिस टिमलाई केही जितको आवश्यक छ र यसले टिममा फेरि आत्मविश्वास फर्काउने छ । ठीक यही बेला उनलाई पूर्व कप्तान जोए रुटको पनि साथ र सहयोग चाहिनेछ ।
–बीबीसीको सहयोगमा ।