पोखरा । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा सन्दीप लामिछानेको टिम विराटनगर टाईटन्सलाई ७८ रनले हराएर धनगढीले पहिलो जित दर्ता गरेको हो । जितसंगै धनगढीले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा धनगढी हुलास काठमाडौं रोयल्ससंग १७ रनले पराजित भएको थियो ।
विराटनगरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगर पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो । विराटनगर २ खेलबाट सुन्य अंकसहित अंक तालिकाको पुछारमा छ ।
धनगढीले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले १६ ओभर ४ बलमा १०४ रन जोड्दा अलआउट भयो । विराटनगरका लागि सुनिल धमलाले २१ रन जोड्दा मोहमद जायदले १९ रन जोडे । त्यस्तै एन्ड्रयु शुबिक्सनले १८ रन जोड्दा सन्दीप लामिछानेले १० रन बनाए ।
धनगढीका डान लरेन्सले ३ विकेट लिदा दिपेंदर सिंह ऐरीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभरमा अलआउट हुँदै १८२ रन जोडेको थियो । धनगढीका लागि इंग्ल्यान्डका खेलाडी पिटर ट्रेगोले अर्धशतकीय पारी खेले । खराब सुरुवात गरेको धनगढीको इनिङस उकास्न पिटरले ५३ रनको योगदान दिए । उनले कप्तान दिपेन्द्र सिंह ऐरीसंग मिलेर चौथो विकेटको लागि ६० रनको साझेदारी गरे । दिपेन्द्र २९ रनमा आउट भए ।
यस्तै अन्तिम अर्डरमा ब्याटिङ गर्न आएका सौरभ खनालले विस्फोटक ब्याटिङ गर्दै ४१ रन जोडे । उनले १३ बलमा २ चौका र ५ छक्का प्रहार गरे । धनगढीका सन्दीप जोरा १२ रनमा आउट हुँदा रोबिन क्षेत्री १० रनमा आउट भए ।
विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै जाइद खान, सन्दीप लामिछाने,किशोर महतो र सुनिल धमलाले समान एक/एक विकेट लिए ।
प्रतियोगिता अन्तर्गत नै आज हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनले प्रतिस्पर्धा गर्नेछन् ।