एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कुनै पनि राष्ट्रबिरुद्ध आफुलाई प्रमाणित गर्न आवश्यक नरहेको बताएका छन् ।
इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज खेल्न लण्डन पुगेका कप्तान कोहलीले पहिलो टेष्टको अघिल्लो दिन आफुलाई प्रमाणित गर्न आवश्यक नरहेको बताएका हुन् । कप्तान कोहलीले भने, 'कुनैपनि राष्ट्रविरुद्ध मैले प्रमाणित गर्नुपर्ने कुरा दिमागमा राखेको छैन । म टोलीको लागि प्रदर्शन गर्ने छु ।'
यस्तै कप्तान कोहलीले आफुले इंग्ल्यान्डविरुद्धको पहिलो खेल जित्दै अग्रता बनाउन चाहेको बताए । 'म टोलीका लागि रन जोड्न चाहन्छु र भारतलाई अग्रता दिलाउन चाहन्छु । मेरो मनसाय त्यहीँ हो,' टेष्ट क्रिकेटको ब्याटिङतर्फ दोस्रो वरियतामा रहेका कोहलीले भनेका छन् ।
भारतले घरेलु टोलीविरुद्ध पाँच खेलको टेष्ट सिरिज खेल्दैछ । पहिलो टेष्ट बुधबार सुरु हुँदैछ । भारतले सन् २००७ पछि इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज जित्न सकेको छैन ।
भारतविरुद्धको यो टेष्ट इंग्ल्यान्डको लागि पनि महत्वपूर्ण रहेको छ । यो टेष्ट इंग्ल्यान्डको एक हजारौं टेष्ट खेल हुनेछ ।