एजेन्सी । पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेट भारतले जितेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो ।
माहोलीमा दक्षिण अफ्रिकाले दिएको १५० रनको लक्ष्य भारतले १९ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
भारतको जितमा कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले । कोहलीले अविजित ७२ रन बनाए । दक्षिण अफ्रिकाको इनिङ्ससँगै कोहली टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा २ हजार ४ सय ४१ रन बनाएका कोहलीले भारतको रोहित शर्माको कीर्तिमान तोडेका हुन् । रोहितले २ हजार ४ सय ३४ रन बनाएका छन् ।
यस्तै शिखर धवनले ४० रन जोड्दा श्रेयस आयरले रन बनाए । रोहित शर्मा १२ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका एडिले लक्की, कार्ल फोर्टुन र ताब्रेज साम्शीले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै टेम्बा बाभुमाले ४९ तथा डेभिड मिलरले १८ रन बनाएका थिए ।
भारतका दिपक चाहरले २ विकेट लिए । नभदिप सैनी, रविन्द्र जडेजा र हार्दिक पाण्डायले १/१ विकेट लिए ।
जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यसअघि पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो ।
दुईबीचको अन्तिम तथा तेस्रो टी-ट्वान्टी आइतबार हुनेछ । त्यसपछि दुई टोलीले तीन खेलको टेष्ट र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।