काठमाडौं । एभरेस्ट प्रिमिएर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अब विश्व प्रसिद्द भारतीय स्पोर्ट्स च्यानल डी स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।
ईपीएलले मंगलबार डी स्पोर्ट्ससँग ब्रोडकाष्टिङ पार्टनरको रुपमा तीन वर्षे सम्झौता गरेको छ । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र डी स्पोर्ट्सका सीईओ दिलिप सरनले सम्झौता पत्रमा हस्ताक्षर गरे । तर, सम्झौता रकम भने खुलाईएको छैन ।
सम्झौतासँगै अब ईपीएलको प्रत्यक्ष प्रशारण र प्रोडक्सन डी स्पोर्ट्सले गर्नेछन् । यसअघि ईपीएल क्रिकेट एपी वान टेलिभिजनले गर्दै आएको थियो ।
ईपीएलका प्रबन्ध निर्देशक अख्तरले डी स्पोर्ट्स ग्लोबल पार्टनरका रुपमा जोडिएको र नेपालमा लोकल टेलिभिजन जोडिने समेत बताए ।
सम्झौतापछि बोल्दै डी स्पोर्ट्सका सीईओ दिलिपले यस कार्यले युवा क्रिकेटरलाई अन्तराष्ट्रिय एक्सपाेजरका लागि सहयाेग पुग्ने बताए ।
चौथो संस्करणको ईपीएल क्रिकेट फागुन तेस्रो साताबाट सुरु हुनेछ । १३ दिन चल्ने ईपीएल फागुन १७ देखि चैत १ गते सम्म संचालन हुनेछ । यसअघि ईपीएल मंसिर देखि पुसमा हुँदै आएको थियो ।
आयोजकले यस पटकको लिगका लागि फ्रेन्चाइज टिमले आइकोनिक खेलाडीमा टेष्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नु पर्ने नियम बनाएको छ ।
गत संस्करणको उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रीयट्सले जितेको थियो ।