काठमाडौं । एकेडेमी क्रिकेट लिग (एसीएल) यू-१९ टी-ट्वान्टी क्रिकेट प्रतियोगिता असोज पहिलो साताबाट आयोजना हुने भएको छ ।
आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३ गतेबाट असोज १५ गतेसम्म हुने जानकारी गराएको छ ।
मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा निजी लगानीको क्रिकेट एकेडेमीको १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग कम नकआउटका आधारमा आयोजना हुने प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
संविधान दिवसको अवसरमा हुने प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्रवर्द्धनमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख पाउने छन् । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई पनि पुरस्कृत गरिने छ ।
यस्तै उत्कृष्ट ४ खेलाडीलाई नेक्ससले दिल्लीमा ६ महिनाको निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ भने अन्य पाँच खेलाडीलाई नेक्सस एकेडेमीले १ वर्षको निशुल्क प्रशिक्षणको अवसर पाउने छन् ।
त्यस्तै प्रतियोगिताका हरेक खेलाडी र अफिसियलका लागि ५ लाख बराबरको बिमा गरिएको आयोजकले जनाएको छ ।