काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कपको सेमिफाइनल पुग्न नेपाललाई कठिन नहुने बताएका छन् ।
कप्तान रोहितले नेपालको तयारी राम्रो नभएपनि टिमका खेलाडीले शतप्रतिशत प्रदर्शन गरेमा सेमिफाइनल पुग्न कठिन नहुने बताए ।
'सेमिफाइनल पुग्न हामीलाई गाह्रो छैन । हामीले खेलमा आफ्नो शतप्रतिशत दिन सके सेमिफाइनल पुग्छौं ।' बिहिबार पहिलो दिनको प्रशिक्षणपछि रोहितले भने ।
प्रतियोगिताको मिति नजिकिएपनि नेपालले बिहिबारबाट टियु क्रिकेट मैदानमा तयारी सुरु गरेको छ । प्रतियोगिता आगामी सेप्टेम्बर ५ देखि १५ सम्म आयोजना हुनेछ ।
तर, कप्तान रोहितले नेपालको तयारी सेमिफाइनल पुग्ने गरी नभएको बताए ।
'मैदानको अवस्था राम्रो छैन । विकेट पनि राम्रो छैन । इन्डोरमा गएर खेल्नुपर्छ,' रोहितले थपे, 'तयारी त त्यति राम्रो छैन तर पनि सेमिफाइनल पुग्न गाह्रो त छैन ।'
सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई पराजित गरेको थियो ।समूह चरणको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।
यस्तै रोहितले सबै खेलाडीले आफ्नो जिम्मेवारी अनुसार श्रीलंकामा प्रदर्शन गरेमा जित निकाल्न कठिन नहुने बताए ।
'पहिलाको जस्तो एकतर्फी खेल त हुँदैन किनकि हाम्रो टिम पनि बलियो नै छ । किनभने हामीले धेरै प्रतियोगिता खेलिरहेका छौ । जे भएपनि गेम राम्रो नै हुन्छ भन्ने लागेको छ,' रोहितले भने ।
एसिया कपमा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।