काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियामा अन्तिम तयारी गरिरहेको छ ।
मलेसियामा रहेको नेपाली टोलीले घरेलु टोलीसँगको दुई खेलको टी-ट्वान्टी क्रिकेट सिरिज समेत 'क्लिन स्विप' गरिसकेको छ । अब केहि दिनपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्ने छन् ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको यस एसिया फाइनल जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।
एसिया फाइनलमा नेपालले पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् ।
एसिया फाइनलमा नेपाल उपाधि दाबेदार टिम हो । यस फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त राष्ट्र हो । र, नेपाल उपाधि जित्दै ग्लोबल छनोटमा पुग्न चाहन्छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियता हेर्ने हो भने पनि नेपाल अन्य राष्ट्रभन्दा निकै माथि छ । आईसीसीको वरियतामा नेपाल ११ औं स्थानमा रहेको छ ।
नेपालपछि वरियतामा कतार २१ औं स्थानमा छ । यस्तै आयोजक सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा रहेका छन् ।
आईसीसीको वरियता हेर्दा प्रतियोगितामा नेपाल हाबी हुने देखिन्छ । तर, नेपाली टोलीका कप्तान पारस खड्का त्यसलाई मान्न तयार छैनन् ।
कप्तान पारसले नेपाल वरियतामा राम्रो रहेको भएपनि प्रतियोगिता चुनौतिपूर्ण रहेको बताउँछन् ।
'वरियतामा हामी माथि छौं, त्यसैले सबै खेल जित्नुको विकल्प छैन,' कप्तान पारसले मलेसिया प्रस्थान गर्नु अघि भनेका थिए, 'मात्र एक टोलीले अघिल्लो चरणमा प्रवेश पाउने भएका कारण हामीलाई उपाधि जित्नु छ ।'