एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले राष्ट्रिय क्रिकेट टिमको कप्तान र प्रशिक्षक फेरबदलका लागि जुलाई अन्तिम साता बैठक डाकेको छ ।
बोर्डका सदस्य तथा पूर्व खेलाडी मिस्बाह उल हक अमेरिका भ्रमणमा निस्किएपछि बोर्डको बैठक सारिएको हो । बैठक जुलाई २९ गतेका लागि डाकिएको पाकिस्तान क्रिकेटले जनाएको छ । यस्तै अमेरिका भ्रमण लम्बिए उल हक भिडियो च्याटमार्फत बैठकमा उपस्थित रहनेछन् ।
इंग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा समूह चरणबाट बाहिरिएपछि पाकिस्तानले कप्तान र प्रशिक्षक परिवर्तन गर्ने तयारी गरिरहेको छ ।
इंग्ल्याण्ड विश्वकपमा पाकिस्तानले सर्फराज अहमदको कप्तानीमा खेलेको थियो ।
यसअघि सन् २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफी जित्दा अहमद नै कप्तान रहेका थिए । त्यसयता पाकिस्तानको प्रदर्शन खस्कदै आएको छ । निरन्तर खराब प्रदर्शन भएपछि कप्तान समर्थकले कप्तानमाथि प्रश्न उठाउँदै आएका छन् ।
यस्तै पाकिस्तानी प्रशिक्षक मिकी अर्थरको सम्झौता पनि विश्वकप लगत्तै सकिएको छ । पाकिस्तानले उनीसंग पुन: सम्झौता गर्न चाहेको छैन ।
प्रशिक्षक अर्थरको सम्झौता सकिएसँगै पाकिस्तान नयाँ प्रशिक्षकको खोजीमा रहेको छ । पाकिस्तानले जिम्बाबेका पूर्व कप्तान तथा इंग्ल्याण्डका पूर्व प्रशिक्षक एन्डी फ्लावरलाई नियुक्त गर्ने तयारी गरेको छ ।