एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आईसीसी एकदिवसीय विश्वकपमा सेमिफाइनलको सट्टा प्ले अफ ढाँचा हुनुपर्ने बताएका छन् ।
कप्तान कोहलीले भारतको चर्चित फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) मा जस्तै विश्वकपमा पहिलो र दोस्रो स्थानको टिमले पनि एक अवसर पाउनु पर्ने बताएका हुन् ।
इंग्ल्याण्डमा हालै सम्पन्न विश्वकपको सेमिफाइनलमा भारत न्युजिल्याण्डसँग १८ रनले पराजित भएको थियो । लिग चरणमा शीर्ष स्थानमा रहेको भारत चौथो स्थानको न्युजिल्याण्डसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।
आईपीएलमा लिग चरणमा शीर्ष दुई टोलीले क्वालिफायर्स खेल्ने गर्छन र पराजित हुने टोलीले पुन: फाइनल पुग्न इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्ने गर्छन । तर, विश्वकपको सेमिफाइनलमा पराजित हुने टिमले कुनै मौका पाउँदैनन् ।